BETA
VERSION

अमेरिकी सरकारद्वारा जलविद्युत्मा लगानी घोषणा

अमेरिकी सरकारद्वारा जलविद्युत्मा लगानी घोषणा

14 July 2015 | Rajdhani

राजधानी
काठमाडौं, २८ असार

अमेरिकाले नेपालको जलविद्युत् विकासमा लगानी गर्ने घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत अमेरिकी सरकारले नेपालको जलविद्युत् विस्तारमा सहयोग गर्ने घोषणा गरेको हो । सोमबार अमेरिकी राजदूतावासले यूएसएआईडीमार्फत नेपाल जलविद्युत् विकास परियोजना (एनएचडीपी) को थालनी गरेको घोषणा गरेको छ । डेलाइट कन्सल्टिङ एलएलपीद्वारा कार्यान्वयन गरिने सो पञ्चवर्षीय परियोजनामा ९८ लाख डलर लगानी गर्ने दूतावासले जनाएको छ । परियोजनाले आधुनिक, उच्चस्तरीय जलविद्युत् सेवामा देशको पहुँच बढाउने र दक्षिण एसियामा ऊर्जाको निर्यातकर्ता बन्ने नेपाल सरकारको प्रयत्नलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ । लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग सहकार्य गरी परियोजनाले वातावरणीय तथा सामाजिक रूपमा दिगो तबरले जलस्रोतमा निजी क्षेत्रको लगानीलाई सहजीकरण गर्न सघाउने लक्ष्य छ ।

परियोजनाले राष्ट्रिय ऊर्जा सेवा निर्माण तथा नेपाल र भारतबिच विस्तारित विद्युत् व्यापार प्रवद्र्धन गर्नुका साथै विद्युत् क्षेत्रको पुनःसंरचनाका लागि समेत सघाउ पु¥याउने लक्ष्य राखेको छ । परियोजनाबाट आर्थिक वृद्धि, रोजगारी सिर्जना, विद्युत्को बिक्रीबाट उच्च निर्यात आय तथा घरेलु उत्पादन क्षमताको विकास तथा क्षेत्रीय विद्युत् बजारसँगको एकीकरणमार्फत बृहत्तर ऊर्जा सुरक्षाजस्ता उपलब्धि हुने अपेक्षा गरिएको छ । अमेरिकी राजदूत पिटर डब्लु बोडीले नयाँ परियोजनाले नेपालको ऊर्जा विकासमा सहयोग पुग्नुका साथै जलविद्युत् क्षेत्रको विस्तार तथा क्षेत्रीय निर्यातका लागि उपलब्ध ऊर्जाको मात्रालाई वृद्धि गर्ने बताए ।

http://rajdhani.com.np/article/0349468001436838924