BETA
VERSION

कृषि र जडीबुटी उद्योगमा भारतीय लगानीकर्ता आकर्षित

कृषि र जडीबुटी उद्योगमा भारतीय लगानीकर्ता आकर्षित

 २०७२-०४-२६ मा प्रकाशित      

अभियान संवाददाता

साउन २५, काठमाडौं । उच्च मूल्यका कृषि उपज तथा औषधिजन्य जडीबुटी उद्योगमा लगानी गर्न भारतीय उद्योगी÷व्यवसायीले इच्छा देखाएका छन् । नेपालको कृषिक्षेत्र र जडीबुटीजन्य उद्योगमा पनि सौन्दर्य प्रसाधनका सामग्री उत्पादनमा उनीहरूले विशेष इच्छा व्यक्त गरेका हुन् । नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (निक्की) र लगानी बोर्ड नेपाल (आईबीएन)ले सोमवार राजधानीमा आयोजना गरेको भारतीय लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा व्यक्त गरेका हुन् । पछिल्ला वर्षमा लगानीको मुख्य क्षेत्रका रूपमा पहिचान भएको जडीबुटीजन्य उद्योगसँगै उनीहरूले पर्यटन, सूचना प्रविधि, स्वास्थ्य सेवालगायतका क्षेत्रमा पनि थप लगानी गर्न इच्छुक रहेको बताएका थिए । तर, त्यसका लागि लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल सरकारको तर्फबाट पनि उत्तिकै काम हुनुपर्नेमा भारतीय लगानीकर्ताले जोड दिएका थिए ।

नेपालको ऊर्जा, सडक निर्माण तथा पूर्वाधारको क्षेत्रमा भारतले ठूलो लगानी गर्न लागिरहेको नेपालका लागि भारतीय राजदूत रणजीत रायले बताए । ‘भारतले फाष्ट ट्र्याक तथा निजगढ एयरपोर्टमा समेत आवश्यक लगानी गर्न इच्छा देखाएको छ,’ उनले भने, ‘नेपालमा भारतीय लगानी बढीभन्दा बढी ल्याउन भारतका विभिन्न शहरमा नेपालको निजीक्षेत्र तथा सरकारले ‘रोड शो’ आयोजना गर्न राम्रो हुन्छ ।’

अन्तरक्रियामा उद्योगमन्त्री महेश बस्नेतले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न उद्योग/व्यवसायसँग सम्बन्धित झण्डै आधा दर्जन ऐन÷नियमलाई समयसापेक्ष संशोधन गरी संसद्मा पेश गरिसकेको जानकारी दिए । ‘हामीले अहिले खासगरी ऊर्जा, कृषि, सिमेण्ट, पूर्वाधार तथा बैङ्क तथा वित्तीय संस्थामा बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि लगानीमैत्री ऐन/नियम निर्माण गरिरहेका छौं ।’ कार्यक्रममा निक्कीका अध्यक्ष शशिराज पाण्डेले नेपाल लगानीका दृष्टिले उत्कृष्ट गन्तव्य हुन नीतिगत सुधार आवश्यक रहेको बताए ।

लगानीकर्तामैत्री श्रम कानून सुनिश्चित गरी उत्पादकत्व वृद्धिका लागि रणनीतिक रूपमा लाग्न उनले सुझाव दिएका थिए ।अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै एशियन पेण्ट्स नेपाल प्रालिका महाप्रबन्धक तथा निक्कीका उपाध्यक्ष बुद्धद्धित्य मुखर्जीले नेपालमा अहिले पनि मासु तथा दुग्धजन्य वस्तु ५० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेकाले यो क्षेत्र लगानीको लागि उपयुक्त रहेको बताएका थिए ।  नेपालमा विगत लामो समयदेखि भारतीय लगानीमा समेत सूर्य नेपाल, डाबर नेपाल, युनिलिभर, पेप्सीकोलालगायत कम्पनी सञ्चालनमा रहेका छन् । त्यसैगरी, एशियन पेण्टस्, बर्जर पेण्ट्स, नेपाल एसबीआई बैङ्क, एभरेष्ट बैङ्क, कासी र यूबी ग्रूपसमेत रहेका छन् । जलविद्युत्, दूरसञ्चार र बीमाक्षेत्रमा पनि भारतीय लगानी रहेको छ ।

http://www.abhiyan.com.np/new/Articles/view/64111

Nepal Investment Summit 2017