BETA
VERSION

जलविद्युत् कम्पनीको ३ अर्ब २३ करोड लगानी भएन

जलविद्युत् कम्पनीको ३ अर्ब २३ करोड लगानी भएन

July 30, 2015 Categories प्रमुख समाचारविकास

बाबुराम खड्का

काठमाडौं, १४ साउन – मुलुकको जलविद्युत् क्षेत्रमा अहिले लगानी अभाव छ । वित्तीय व्यवस्थापन गर्न नसक्दा दर्जनौं आकर्षक आयोजना निर्माण हुन सकेका छैनन् । तर, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)सँग ऋण सम्झौता गरेका विभिन्न ८ आयोजनाका प्रवद्र्धकले भने कर्जाको उपयोग नै गरेका छैनन् । प्रवद्र्धकले यी आयोजना निर्माण गर्न एचआईडीसीसँग ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कर्जा सम्झौता गरेका छन् । यी आयोजनाको जडित क्षमता २७१ मेगावाट छ । ८ आयोजनामा एचआईडीसीएलका साथै विभिन्न बैंक÷वित्तीय संस्थाले प्रवद्र्धकसँग २५ अर्ब रुपैयाँ लगानी सम्झौता गरेका छन् । ८ आयोजनाको कुल लागत ४२ अर्ब ३९ करोड रुपैयाँ छ ।

प्रवद्र्धकले सम्झौताअनुसार ऋण नलिएपछि कारोबार सुरु गरेको ४ वर्ष बितिसक्दा पनि एचआईडीसीएलले हालसम्म एउटा आयोजनामा पनि लगानी गर्न सकेको छैन । जलविद्युत्मा लगानी हुन नसकेपछि विभिन्न वित्तीय औजार ल्याएर थप लगानी जुटाउने उसको योजनासमेत प्रभावित भएको छ । लगानी नभएपछि उसले मुद्दती खातामा रकम राखेर ब्याज आम्दानीमात्रै गरिरहेको छ । बैंक ब्याजबाट गत आवमा उसले करोडौं रुपैयाँ नाफा कमाएको छ ।

जलविद्युत्मा मात्रै लगानी गर्ने उद्देश्यका साथ सरकारले एचआईडीसीएल स्थापना गरेको हो । ०६७ देखि लगानी थालेको एचआईडीसीएलले विभिन्न बैंक÷वित्तीय संस्थाको सहवित्तीयकरणमा कर्जा सम्झौता गरेको छ । आयोजनाको क्षमताअनुसार उसले न्यूनतम १५ करोडदेखि १ अर्ब रुपैयाँसम्म ऋण लगानी सम्झौता गरेको छ ।
विभिन्न कारणले आयोजनाको काम रोकिएपछि एचआईडीसीएलका साथै ८ आयोजनामा सहवितीयकरणअन्तर्गत सम्झौता गरेका अन्य बैंक÷वित्तीय संस्थाको कर्जासमेत उपयोग भएको छैन । उनीहरूले सो रकम होल्ड गरेर राखेका छन् । पछिल्लो समयमा विद्युत् प्राधिकरणले बढी ऊर्जा उत्पादन हुने वर्षात्का ४ महिना बिजुली नकिन्ने गरी प्रवद्र्धकसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्दा लगानी हुन सकेको छैन ।
आयोजाको काम सुरु नभएपछि प्रवद्र्धकले कर्जा उपयोग नगरेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार बताउँछन् । समय तालिकाअनुसार कर्जा उपयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रवद्र्धकबाट जरिवाना लिने उनले बताए । “कर्जाको उपयोग नभएपछि जरिवाना लिने व्यववस्था गरेका छौं,” उनले भने, “ऋण उपयोग भएन भने हामी प्रवद्र्धकबाट जरिवाना असुल्छौं ।” विनाशकारी भूकम्पले असर पारेकाले पनि लगानी हुन नसकेको उनले बताए ।

सबैभन्दा पहिला ऋण सम्झौता गरेको मिस्त्रीखोला आयोजना निर्माण सुरु भएको छैन । प्रवद्र्धक रोबस्ट इनर्जीले एचआईडीसीएलसँग सम्झौता गरेको १ अर्ब रुपैयाँ उपयोग गर्न सकेको छैन । उसले अन्य बैंक÷वित्तीय संस्थासँग सम्झौता गरेको ३ अर्ब २४ करोड पनि लिएको छैन । मिस्त्रीखोलामा नबिल बैंकको अगुवाइमा एचआईडीसीएलसहित विभिन्न ७ वित्तीय संस्थाले लगानी सम्झौता गरेका छन् ।

त्यस्तै, एचआईडीसीएलले २७ मेगावाटको दोर्दीखोला ५० करोड, साढे २३ मेगावाटको सोलुमा २० करोड, ३० मेगावाटको खानीखोलामा ४० करोड, २५ मेगावाटको कावेली ‘बी’मा २० करोड, ८२ मेगावाटको तल्लो सोलुमा ६० करोड, २० मेगावाटको बागमती साना आयोजनामा २० करोड रुपैयाँ लगानी सम्झौता गरेको छ । २१.६ मेगावाटको तल्लो हेवाखोलामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रारम्भिक सम्झौता भए पनि हालसम्म ऋण सम्झौता हुन बाँकी छ । त्यस्तै, नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन आयोजनाअन्तर्गत ढल्केबरदेखि भिठ्ठामोडसम्म ४० किलोमिटर लामो ४ सय केभी प्रसारणलाइन बनाउन पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन)मा १४ प्रतिशत स्वपुँजीसमेत लगानी सम्झौता गरेको छ ।

कालीगण्डकी करिडोरमा प्रसारणलाइन नबनेका कारण आयोजना अघि बढ्न सकेको छैन । प्रवद्र्धक रोबस्ट इनर्जीले मिस्त्रीखोला सन् २०१६ मा सम्पन्न गर्ने लक्ष्य लिए पनि प्राधिकरणले प्रसारणलाइन नबनाउँदा आयोजना अन्योलमा छ । आयोजना बनाउन ५ अर्ब ६४ करोड रुपैयाँ लाग्नेमा नबिल बैंकको अगुवाइमा एचआईडीसीएलसहित विभिन्न ७ वित्तीय संस्थाले ४ अर्ब २३ करोड रुपैयाँ लगानी सम्झौता भएको छ ।
मिस्त्रीखोलामात्र होइन, अन्य ७ आयोजनाको काम पनि अघि बढ्न सकेको छैन । अपर सोलु हाइड्रोपावरले सोलु आयोजनाको काम सुरु गरे पनि प्रसारणलाइन अनिश्चित भएको छ । अपर सोलुले चाँडै कर्जा उपयोग गर्ने एचआईडीसीएलले जनाएको छ ।

एचआईडीसीएलसँग ९ अर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ । उसले २ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्दैछ । चालू आवको बजेटमा जलविद्युत्मा लगानी जुटाउन रेमिट हाइड्रो अवधारणमार्फत आयोजना बढाउने नीति सरकारले लिएको छ ।

एचआईडीसीएलमा सरकारको ५ अर्ब, नागरिक लगानी कोष, बिमा संस्थान र कर्मचारी सञ्चय कोषको १–१ अर्ब रुपैयाँ गरी ८ अर्ब रुपैयाँ जम्मा भइसेकको छ । कम्पनीको अधिकृत पुँजी ५० अर्ब, जारी पुँजी १० अर्ब र संस्थापकहरूले तत्काल चुक्ता गर्न कबोल गरेको पुँजी ८ अर्ब रुपैयाँ छ ।

http://np.karobardaily.com/2015/07/61675/