BETA
VERSION

निजगढ विमानस्थलको जग्गा अधिग्रहण छिट्टै

निजगढ विमानस्थलको जग्गा अधिग्रहण छिट्टै

10 June 2015 | Kantipur

कान्तिपुर दैनिक

काठमाडौ, जेष्ठ २६ – 


दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढका लागि जग्गा अधिग्रहण छिट्टै थालिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १८ मा गरेको सचिवस्तरीय निर्णयअनुसार विमानस्थलको कामलाई अगाडि बढाउने भन्दै जग्गा अधिग्रहणका लागि प्रारम्भिक कारबाही चलाउन अधिकारी तोकिएको छ । अधिकारीका रूपमा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वकिल चिमौरियालाई छनोट गरिएको छ । काम अगाडि बढाउन नागरिक उड्डयन प्राधिकरणले जग्गाको नाप जाँच विवरण उपलब्ध गराइदिन भन्दै बिहीबार (जेठ २१ गते) मन्त्रालयलाई पत्रचार गरेको छ । ‘तोकिएको जग्गाको चार किल्लाभित्र विमानस्थल निर्माण सुरु गर्नुपूर्व अधिग्रहणका लागि निजी, सरकारी, वन तथा अन्य जग्गा के–कति हुन आउँछ, नाप जाँच गरी विवरण उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइदिन अनुरोध छ,’ पत्रमा उल्लेख छ । सरकारले विमानस्थल निर्माण प्रक्रियामा जान अधिकारी तोकेपछि प्राधिकरणले सञ्चालक समितिको बैठकमार्फत् ५० करोड रुपैयाँ बजेटलाई कसरी खर्च गर्ने भनेर निर्णय गरेको छ । उक्त निर्णयअनुसार आयोजनाका लागि नेपाल सरकारको सेयर लगानीमा ४९ करोड र परामर्शमा १ करोड रुपैयाँ छुट्टयाइएको छ । जग्गा खरिद तथा विकास शीर्षकअन्तर्गत ‘निर्माणपूर्वका चरणका प्रशासनिक कार्य’ तर्फ ४ करोड रुपैयाँ चौमासिक विभाजन स्वीकृत गराई लागू गर्ने निर्णय समितिले गरेको छ । 


चिमौरियाका अनुसार अब जग्गाको लागत अनुमान थालिने छ । ‘सँगै वनअन्तर्गत पर्ने जग्गाका रुख कटान र १ हजार ४ सय घरलाई पुनर्बास गर्नुपर्ने हुन्छ,’ उनले भने । सरकारले बजेटमा ५० करोड रुपैयाँ छुट्टयाएर विमानस्थलको प्रारम्भिक कार्यहरू पूरा गर्न भनेको थियो । गत वर्षको चैतमा सरकारले दोस्रो विमानस्थल निर्माणको जिम्मा प्राधिकरणले लिने र लागेको लागत सरकारले व्यहोर्ने निर्णयपछि सुरुआतका लागि ५० करोड रुपैयाँ विनियोजन भएको हो । चिमौरियाका अनुसार जग्गाको अन्तिम लागत तय भएपछि सरकारले लगानी बढाउँदै जाने छ । ‘कुनै व्यवधान नआएर नियमित काम गर्न पाए छिट्टै काम पूरा हुने छ,’ चिमौरियाले भने, ‘नभए मैले तीन वर्षको समयभित्र पूरा गर्ने योजना बनाएको छु ।’ उनका अनुसार अब दोस्रो विमानस्थल निर्माणका विषयमा कुनै अन्योल छैन । प्राधिकरणले कामलाई अगाडि बढाउन विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन आवश्यक भएकाले तत्काल प्रतिवेदनका महत्त्वपूर्ण अंशहरू टीओआरसहित मन्त्रालयसँग माग गरेको छ । गत चैत १७ गते नै निजगढ विमानस्थल निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्तिका लागि खर्च गर्न प्राधिकरणको सेयर लगानीमा ५० करोड रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको थियो । त्यसपछि पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयको निर्णयअनुसार कार्यान्वयनका लागि चैत २० गते निर्देशन दियो । 
विमानस्थल जग्गाका लागि चौघेरा तोक्ने काम भने गतवर्षको फागुन/चैतमा पूरा भइसकेको थियो । जसअनुसार निजगढ बाराको उत्तरपट्टि महेन्द्र राजमार्गको पसाहा खोलादेखि वकिया नदीसम्म, पूर्वपट्टि वकिया नदीको पुलदेखि नदी हुँदै ८ किलोमिटर दक्षिण सिमानामा सपाही गाविसको केही भागलाई विमानस्थल क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, पश्चिमपट्टि राजमार्गको खोला हँुदै ६ किलोमिटर दक्षिण खोलाको सिमानामा रहेको हरैया गाविसको केही भागसम्म र दक्षिणपट्टि पसाहा खोलाको हरैया गाविसको कोर्डिनेट पोइन्टबाट सीधा पूर्वतर्फ करैया गाविस, ककाडी गाविस, डुमरवाना गाविस हँुदै सपाही गाविसको वकैया नदीको किनार तथा अन्य केही भागलाई विमानस्थलको क्षेत्रका रूपमा छुट्टयाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा निजगढमा दोस्रो निर्माण गर्न खोजिएको छ । तर यसका लागि सन् २००९ (विसं २०६४) देखि पहल गरिए पनि गतवर्ष मात्र कसले निर्माणको सुरुआत गर्ने भन्ने तय भएको हो । 

http://www.ekantipur.com/kantipur/2072/2/26/full-story/348156.html