BETA
VERSION

निजी क्षेत्रको लगानीमा ठुल्ठूला आयोजना

निजी क्षेत्रको लगानीमा ठुल्ठूला आयोजना

निर्माणाधीन सेराटन होटेल काठमाडौंको स्केच ।

Nayapatrika Daily

निजी क्षेत्रको उत्साहजनक लगानीमा होटेलदेखि हाइड्रोसम्म, केबलकारदेखि सिमेन्ट उद्योगसम्मका दर्जनौँ परियोजना निर्माणाधीन

कृष्ण रिजाल, अच्युत पुरी/नयाँ पत्रिका

काठमाडौं, २६ साउन

उत्पादन र सेवामूलक उद्योग मात्रै होइन, निजी क्षेत्रको लगानी रहेका खानी, ऊर्जा, कृषिमूलकलगायत उद्योगले उत्साहप्रद रूपमा निर्माणको गति लिइरहेका छन् । खासगरी संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भएयता निजी क्षेत्रको लगानी उत्साही रूपमा बढ्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

‘पछिल्लो समय पेपरमा मात्रै लगानी आउने ट्रेन्ड अलि कम हुन थालेको छ,’ उनले भने, ‘सरकारले सुरु गरेको नीतिगत सुधार तथा लगानी प्रवद्र्धनको प्रत्याभूतिले घोषणा गरिएका लगानी कार्यान्वयनमा जान थालेका हुन् ।’


सरकारले अघिल्लो वर्ष भारतसँग गरेको ऊर्जा व्यापार सम्झौता (पिडिए) र भारतीय कम्पनीसँग गरेको परियोजना विकास सम्झौता (पिटिए) ले विदेशी तथा स्वदेशी निजी लगानीलाई आकर्षण गरेको मुरारकाले बताए । समयमै संविधान निर्माण गरेर राजनीतिक स्थायित्व कायम गर्न सकिए लगानी सोचेभन्दा बढी भित्रने उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा नेपालका निजी क्षेत्रले कुल ९ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । सोही अवधिमा ६७ अर्ब २३ करोड ६९ लाख रुपैयाँबराबरको विदेशी लगानीको प्रस्तावसमेत आएको छ । लगानीको वातावरण बन्दै गएमा प्रस्तावित लगानी कार्यान्वयनमा आउन सक्ने उनले बताए । निजी क्षेत्रले प्रवद्र्धन गरेका २० भन्दा बढी साना तथा मझौला जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । कुल ४ सय मेगावाटभन्दा बढीका आयोजना सम्पन्न भएपछि लोडसेडिङ न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘तर, यसका लागि प्रसारण लाइनको अभाव छ, उत्पादित बिजुली उपभोक्ताको घरमा पुर्‍याउन नसकेर त्यसै खेर जाने अवस्था पनि छ,’ उनले भने, ‘प्रसारण लाइन बनाउन सरकार गम्भीर हुनुपर्छ ।’ अहिले निजी क्षेत्रबाट प्रवद्र्धित ऊर्जा, सेवा, प्रशोधन, कृषिलगायत उद्योगमा १० खर्ब रुपैयाँभन्दा बढी लगानीका आयोजना निर्माणाधीन छन् । विदेशी तथा स्वदेशी निजी क्षेत्रका ठूला लगानीका जलविद्युत् आयोजना, सिमेन्ट, स्टिल्स, चिनीलगायत उद्योग, तारे होटेल, रिसोर्ट, केबलकारलगायत विभिन्न आयोजनामा निर्माण कार्यले गति लिइरहेको छ ।

भारतीय कम्पनीहरू सतलज जलविद्युत् निगम र जिएमआरले ९/९ सय मेगावाटका क्रमश: अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्दै छन् । सरकारले निर्माणका लागि आयोजना विकास सम्झौता (पिडिए) गरिसकेको छ । दुवै आयोजनामा गरी कुल २ खर्ब रुपैयाँभन्दा बढी लगानी हुँदै छ । चिनियाँ लगानीमा ७ सय ५० मेगावाटको पश्चिम–सेती जलविद्युत् आयोजना पनि निर्माणको क्रममा छ । कोरियन कम्पनीहरूको लगानीमा २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण हुँदै छ । रिलायन्स, डांगोटे र हंसीको अलवा थप तीनवटा ठूला सिमेन्ट तथा क्लिंकर उद्योग पनि सञ्चालनको क्रममा छन् । कसमस सिमेन्टले क्लिंकर उत्पादन थाल्दै छ । धनुषाको ढल्केबरमा सञ्चालनको अन्तिम तयारीमा रहेको उक्त उद्योगमा करिब २ अर्ब लगानी रहेको छ । केएल दुगड समूहले धादिङको नौबिसेमा स्थापना गरेको युनाइटेड क्लिंकर उद्योगले पनि सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । करिब २ अर्ब ५० करोड लगानी रहेको यस उद्योगले प्रतिदिन १० हजार मेट्रिकटन क्लिंकर उत्पादन गर्नेछ । सौरभ ग्रुपले हङकङको कृष्ण होल्डिङ कम्पनी लिमिटेडसँगको साझेदारीमा भैरहवामा स्थापना गरेको सर्वोत्तम सिमेन्ट प्रालिले पनि निकट भविष्यमै क्लिंकर उत्पादन सुरु गर्ने जनाएको छ । करबि ४ अर्ब लगानी रहेको उद्योगले प्रतिदिन ४ लाख मेट्रिकटन क्लिंकर उत्पादन गर्नेछ ।सौर्य एयरलाइन्सले आन्तरिक उडान बढाउन तथा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि सौर्यले औद्योगिक प्रवद्र्धन बोर्डबाट पौने ९ अर्ब रुपैयाँ थप लगानीका लागि स्वीकृति लिइसकेको छ । जगदम्बा स्टिल्सले लगानी थपको स्वीकृति लिइसकेको छ । देउराली जनता फर्मास्युटिकल्स प्रालिले पनि आफ्नो क्षमता विस्तार सुरु गरिसकेको छ । त्यस्तै, सोल्टी, समिटलगायत स्थापित होटेलले पनि क्षमता विस्तार गरिरहेका छन् । शंकर ग्रुपले काठमाडौंको नक्सालमा, एमएमस ग्रुपले भक्तपुरमा, सुमार्गी समूहले काठमाडौंमा र वैद्यज अर्गनाइजेसनले मोफसलमा र लक्ष्मी ग्रुपले पोखरामा तारे होटेल सञ्चालनको प्रक्रिया अघि बढाएका छन् ।

रिलायन्स सिमेन्ट

भारतको रिलायन्स सिमेन्टले ४० अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग खोल्न लगानी बोर्डबाट स्वीकृति पाइसकेको छ । भारतीय अर्बपति अनिल अम्बानीको समूह रिलायन्स ग्रुपअन्तर्गतको सिमेन्ट कम्पनीले नेपालमा लगानीको प्रक्रिया सुरु गरिसकेको छ । रिलायन्सले नेपालमा वार्षिक २३ लाख टन सिमेन्ट उत्पान गर्नेछ । त्यस्तै, कम्तीमा तीन हजारजनालाई रोजगारी दिने प्रतिबद्धतासमेत गरेको छ ।

डांगोटे सिमेन्ट

अफ्रिकी मुलुकका सबैभन्दा धनी व्यक्ति एलिको डांगोटेले ७३ अर्ब रुपैयाँमा सिमेन्ट उद्योग स्थापनाका लागि स्वीकृति पाइसकेको छ । डांगोटेले वार्षिक करिब २१ लाख टन सिमेन्ट उत्पादन गर्नेछ । डांगोटेले सिमेन्ट उद्योग स्थापनाका लागि कम्पनी दर्ता, मकवानपुरमा जग्गा खरिदलगायतका काम सम्पन्न भइसकेको डांगोटेका नेपाल महाप्रबन्धक हिक्मतबहादुर थापाले बताए ।

चीनको हंसी ग्रुप

चीनको हंसी ग्रुपले नेपालमा शिवम् सिमेन्ट प्रालिसँगको साझेदारीमा सिमेन्ट उद्योग स्थापनाको कार्य सुरु गरेको छ । यसका लागि लगानी बोर्डले शिवम्लाई २ अर्ब रुपैयाँ (२० मिलियन डलर) चालू पुँजी ल्याउन अनुमति दिइसकेको छ । कम्पनीको कुल स्थिर पुँजी ३३ अर्ब ९० करोड रुपैयाँ (३३ करोड ९० लाख अमेरिकी डलर) रहेको छ । यसमध्ये ७० प्रतिशत हंसी ग्रुप र ३० प्रतिशत शिवम् सिमेन्टको हुने शिवम्का अध्यक्ष सुरेन्द्र गोयलले बताए । उद्योगको जडित उत्पादन क्षमता दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट/क्लिंकर हुनेछ । उद्योगमा करिब २ हजारजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

सेराटन काठमाडौं

सन् २०१८ बाट सञ्चालनको योजना बनाएको सेराटन काठमाडौं होटेल कान्तिपथमा निर्माणाधीन अवस्थामा छ । एनआरएनका अध्यक्ष शेष घले प्रवद्र्धक रहेको अस्ट्रेलियाको एमआइटी ग्रुप होल्डिंसले होटेलमा ८ अर्ब रुपैयाँ लगानी गर्दै छ । शतप्रतिशत विदेशी लगानी रहेको पाँचतारे होटेलमा २ सय १८ वटा कोठा रहनेछन् । होटेल १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।

अलफ्ट काठमाडौं ठमेल

काठमाडौंको ठमेलमा निर्माणाधीन छायादेवी कम्प्लेक्समा अलफ्ट काठमाडौं होटेल निर्माण भइरहेको छ । अलफ्ट काठमाडौं होटेललाई स्टारउड होटेल एन्ड रिसोर्टको ब्रान्ड अलफ्टले व्यवस्थापन गर्दै छ । सन् २०१७ सम्म सञ्चालनमा ल्याउने योजना रहेको होटेलमा १ सय ७५ कोठा रहनेछन् । करिब ५ अर्ब रुपैयाँ लागतमा निर्माण हुने छायादेवी कम्प्लेक्स करिब १४ रोपनी जग्गामा बनिरहेको छ । भूकम्पबाट कुनै पनि असर नपुगेको निर्माणाधीन छाया सेन्टर कम्प्लेक्समा रहने होटेल निर्धारित समयमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका निर्देशक सुमन पाण्डेले जानकारी दिए ।

होटेल फेयरफिल्ड मारियट

एमएस ग्रुपले काठमाडौंको नक्साल र ठमेलमा क्रमश: पाँच र चारतारे होटेल निर्माण गरिरहेको छ । यी होटेललाई अन्तर्राष्ट्रिय ब्रान्ड फेयरफिल्ड मारियटले व्यवस्थापन गर्दै छ । समूहअन्तर्गतको एभरेस्ट हस्पिटालिटी ग्रुप प्रालिले निर्माण गरिरहेको होटेल आगामी जनवरीमा सञ्चालनमा आउने ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले बताए । नक्सालमा २ सय ३५ कोठाको होटेल निर्माणको काम भइरहेको छ भने ठमेलमा १ सय कोठा रहने बताइएको छ । एमएस समूहले भक्तपुरमा समेत पाँचतारे होटेल निर्माण गर्ने घोषणा गरिसकेको छ ।

चन्द्रागिरी केबलकार

थानकोटदेखि चन्द्रागिरीसम्मको साढे २ किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्ने गरी चन्द्रागिरी केबलकार आयोजना निर्माण भइरहेको छ । आगामी जनवरीबाट सञ्चालनमा ल्याउने योजना रहेको लगानीकर्तामध्येको एक आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । चन्द्रागिरी डाँडामा पाँचतारे रिसोर्ट, जिप फ्लायर, फोरडी थिएटर तथा इच्छापुरेश्वर मन्दिरलगायत संरचना निर्माण भइरहेको आयोजनामा करिब साढे ३ अर्ब रुपैयाँ लगानी हुँदै छ । कम्पनीले सरकारसँग लिजमा लिएको ७ सय २० रोपनी जग्गामा संरचनाहरू निर्माण भइरहेका छन् । केबलकारको बटम स्टेसन १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको पूरै काम सक्न तीन वर्ष लाग्ने उनले बताए ।

हिमालयन एयरलाइन्स

नेपालबाट अन्तर्राष्ट्रिय उडानको योजनासहित हिमालयन एयरलाइन्सले तयारी गरिरहेको छ । हिमालयन एयरलाइन्समा यति एयरलाइन्ससहितको समूहले ५१ प्रतिशत र चीनको तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ । २ अर्ब ५० करोड लगानी हुने एयरलाइन्सले प्रारम्भमा तीनवटा एयरबस ‘ए–३२०’ विमान भाडामा लिएर नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालयन एयरलाइन्सका सुमन पाण्डेले बताए ।

तीन ठूला सिमेन्ट उद्योग

सरकारबाट लगानीको स्वीकृति लिएर उद्योग निर्माण सुरु गरेका भारतको रिलायन्स, नाइजेरियाको डांगोटे र चीनको हंसीले आफ्नो उत्पादनलाई निर्यात गर्नेसमेत योजना बनाएका छन् । ती कम्पनीले तोकिएको समयमै उत्पादन थालेमा अबको चार वर्षभित्र नेपाल सिमेन्टमा पूर्ण आत्मनिर्भर हुनेछ । पूर्ण विदेशी र संयुक्त लगानीमा स्थापित यी ठूला उद्योगको उत्पादन थपिएपछि नेपालले सिमेन्ट निर्यातसमेत गर्न थाल्नेछ ।

तीनवटा पाँचतारे होटेल

सन् २०१८ सम्ममा सञ्चालनमा आइसक्ने लक्ष्यसहित तीनवटा पाँचतारे होटेलको निर्माण भइरहेको छ । निर्माणाधीन सेराटन काठमाडौं, अलफ्ट ठमेल र होटेल फेयरफिल्ड मारियटजस्ता अन्तर्राष्ट्रिय चेन होटेल सञ्चालनमा आएपछि गुणस्तरीय पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
चितवनमा साततारे स्तरको रिसोर्ट

चौधरी समूहले चितवनमा ‘जिंक जर्नी’ ब्रान्डको ‘लक्जरियस’ रिसोर्ट निर्माण गरिरहेको छ । यसै वर्ष सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण थालिएको उक्त रिसोर्टले ‘लक्जरियस’ सेवाको ट्रेन्ड विकासमा योगदान दिने विश्वास गरिएको छ । नेपालमा पाँचतारे होटेलसम्मको मात्रै स्तर निर्धारण हुन्छ । तर, चौधरी ग्रुपको यो होटेलले साततारे स्तरको सेवा दिनेछ ।
साढे तीन अर्बमा केबलकार

थानकोटदेखि चन्द्रागिरीसम्मको साढे दुई किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्ने गरी चन्द्रागिरी केबलकार आयोजना निर्माण भइरहेको छ । चन्द्रागिरी डाँडामा पाँचतारे रिसोर्ट, जिप फ्लायर, फोरडी थिएटर तथा इच्छापुरेश्वर मन्दिरलगायत संरचना निर्माण भइरहेको आयोजनामा करिब साढे ३ अर्ब रुपैयाँ लगानी हुँदै छ ।

http://www.enayapatrika.com/2015/08/20702