BETA
VERSION

नेपाल लगानी वर्ष आयोजना गरिने

नेपाल लगानी वर्ष आयोजना गरिने

11 Aug 2015 | 10:11am

मङ्गलबार २६ श्रावण, २०७२

नागरिक

काठमाडौं- सरकारले लगानी आकर्षित गर्नको लागि नेपाल लगानी वर्ष २०१५/१६को घोषण गर्ने भएको छ। नेपाल–भारत उद्योग वाणिज्य संघ तथा लगानी बोर्डको संयुक्त आयोजनामा गत वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका लगातारका पराकम्पनपश्चात नेपालमा लगानीको वातावरण सम्बन्धी अवसर तथा चुनौतीको विषयमा विस्तृत छलफल गर्ने उद्देश्यले नेपालमा रहेका भारतीय लगानीकर्ताहरुका साथ काठमाडौंमा सोमबार भएको अन्तर्क्रियामा उद्योग मन्त्री महेश बस्नेतले उक्त जानकारी दिएका हुन्। बस्नेतले नेपालमा लगानीको लागी भारतीय उद्योगी, लगानीकर्ताहरुलाई अनुरोध पनि गरे। भूकम्पबाट ठूलो मात्रामा धनजनको क्षती भएको तथा नेपालको पुनर्निर्माणमा भारतीय लगानीले ठूलो सहयोग पुग्ने आशा व्यक्त गर्दै उनले नेपालमा लगानी आकर्षित गर्न नयाँ औद्योगिक नीति, सेज ऐन मन्त्रीपरिषदमा लगिसकेको जानकारी गराउँदै अन्य सुविधाहरु दिनेबारे गृहकार्य तयारी भइरहेको जानकारी पनि गराए।
कार्यक्रममा नेपालमा हालसम्म लगानी गरी आफ्नो उद्योग, व्यवसाय तथा सेवा सञ्चालन गर्दै आइरहेका द्विराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिहरुका साथै नेपाल सरकारका सम्बन्धित अधिकारीहरुको पनि उपस्थिति तथा विद्यमान समयमा नेपालमा लगानीको सम्भावना, सरकारको तर्फबाट लगानी आकर्षित गर्न अबलम्बन गरिनुपर्ने विषयहरुमा केन्द्रीत रहेर नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष बुद्धादित्य मुखर्जीले प्रस्तुति दिएका थिए। उक्त अवसरमा नेपालका लागी भारतीय राजदूत रन्जित रेले नेपालमा लगानी अभिवृद्धिको लागि नेपालले विभिन्न मुलुकहरुमा आफ्नो बजार ब्यवस्थापन गर्न सुझाव दिए। लगानीका लागि उपयुक्त नीतिका साथै लगानीकर्ताहरुको समस्याहरुको उचित सम्बोधन गर्ने प्रभावकारी व्यवस्था अत्यन्त महत्वपूर्ण हुने बिचार व्यक्त गर्दै उनले नेपालका विविध क्षेत्रहरुमा लगानी तथा सीप अभिवृद्धि गर्न भारत सहयोग गर्न तत्पर रहेको विचार व्यक्त गरे।
उनले द्विपक्षीय ब्यापार अभिवृद्धिको लागि सहयोग गर्न पनि भारत तत्पर रहेको र नेपाली कृषि वस्तुको भारत निकासी सहज बनाउन ४ प्रमुख भन्सार नाकाहरुमा एकीकृत चेकपोस्ट निर्माण भइरहेको र २ वटा चेकपोस्टहरु निकट भविष्यमै सञ्चालनमा आउने जानकारी पनि दिए। उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख राधेश पन्तले नेपालमा लगानीका लागी विविध क्षेत्रहरु उपलब्ध रहेको जनाकारी गराए। ती सबै क्षेत्रहरुमा ठूलो सम्भावना पनि रहेको र त्यसबाट विदेशी लगानीकर्ता तथा नेपालीहरुले पनि लाभ लिन सक्ने विचार व्यक्त गर्दै उनले नेपालमा लगानी प्रवर्द्धनका लागी विभिन्न देशहरुमा रोडसोहरु गर्ने लगायत अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने तय गरिएको बताए।

उद्योग मन्त्रालय तथा अन्य मन्त्रालयहरुसँग सहकार्यमा लगानी बोर्ड अगाडि बढिरहेको पनि उनले बताए। उक्त अन्तर्क्रिया कार्यक्रममा उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले लगानीका सम्बन्धमा उठेका विषय तथा समस्याहरुका सम्बन्धमा निकट भविष्यमा नै सम्बोधन हुने बताउँंदै केही दिन भित्र संविधान जारी हुने र अब बन्ने संविधानमा पनि लगानी सुरक्षित गरिने, राज्यबाट कम्पनीहरु निजीकरण नगरिने उल्लेख गरिएको कारण पनि अब नेपालमा लगानी गर्नु सुरक्षित हुने धारण व्यक्त गरे। कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष शशीराज पाण्डेले नेपालमा रहेका भारतीय लगानीकर्ताका समस्याहरुका बारेमा जानकारी गराए।

http://nagariknews.com/economy/main-story/story/43222.html

Nepal Investment Summit 2017