BETA
VERSION

बजेटले बिर्सियो निजगढ विमानस्थललाई

16 July 2015

Kantipur Daily

बजेटले बिर्सियो निजगढ विमानस्थललाई

सुरज कुँवर

काठमाडौ, असार ३० – Kantipur

राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले बजेट तथा कार्यक्रममा प्राथमिकता पाएन ।


भूकम्पपछिको पुन:स्थापना, पुनर्निर्माण तथा नव नेपाल निर्माणको अभियान थालेको बजेटले आगमी ५ वर्षभित्र पुनर्निर्माण गर्ने अठोट लिए पनि यसबारे मौन रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साघुँरोपनाका कारण बढी चाप थेग्न नसक्ने अध्ययनले नै देखाएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ पछि त्रिभुवन विमानस्थलले यात्रु र हवाई भार थेग्न नसक्ने बताएको छ । यस्तोमा पछिल्लो पटक टर्किस एयरलाइन्सको विमान दुर्घटना हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएकै कारण समस्या उत्पन्न भएको थियो । निजगढ विमानस्थल बन्नुको विकल्प नहुँदा पनि सरकारले यसपालिको बजेटमा प्राथमिकतामा नराख्नु ठिक नभएको पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले प्रतिक्रिया दिए । त्यही अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिएका छन् । यसका लागि १ अर्ब ७५ करोड विनियोजन गरिएको छ । आगामी वर्ष सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरण सकेर निर्माण पनि थालिहाल्ने उनले बजेटमा घोषणा गरे । 

उनले विमानस्थल निर्माण एवं सुधार्न ५ अर्ब ७५ करोड विनियोजन गरिएको सुनाए । ‘आगामी वर्ष राजविराज, नेपालगन्ज र धनगढी विमानस्थललाई स्तरोन्नति गरिने भएको छ,’ अर्थमन्त्री महतले भने । त्यसैगरी भैरहवामा रहेको गौतम बुद्ध विमानस्थलको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने भएको छ । चालू वर्ष यस विमानस्थलका लागि २ अर्ब ५० करोड विनियोजन गरिएको छ ।  अर्थमन्त्रीले सरकार स्वामित्वको नेपाल वायु सेवा निगमलो थप जहाज थप्ने गुरुयोजनाअनुसार निगमले थप जहाज ल्याउने प्रक्रिया थाल्ने बताए । ‘उड्डयन क्षेत्रमा अनुभव प्राप्त अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई रणनीतिक साझेदारका रूपमा भित्र्याउने प्रक्रिया गर्ने भएको छ,’ बजेटमा उल्लेख छ । त्यसैगरी भूकम्पका कारण प्रभावित पुरातत्त्वतर्फ २ अर्ब विनियोजन गरिएको छ । यो रकम राष्ट्रिय पुनर्निर्माण कोषबाट विनियोजन गरिएको हो । यो कोषमा हाल ७४ अर्ब विनियोजन गरिएको छ । भूकम्पका कारण प्रभावित पर्यटन व्यवसायीहरूलाई पुनर्कर्जा र ब्याज सहुलियत उपलब्ध गराइने भएको छ । यसका लागि राष्ट्र बैंकमातहत आर्थिक पुनरुद्धार कोष स्थापना हुने भएको छ । 

http://www.ekantipur.com/kantipur/2072/3/30/full-story/350473.html