BETA
VERSION

बूढीगण्डकीलाई बहुद्देश्यीय बनाउन माग

बूढीगण्डकीलाई बहुद्देश्यीय बनाउन माग

July 31, 2015 काराेबार

काठमाडौं, १५ साउन – बूढीगण्डकीलाई बिजुली उत्पादनमा मात्र नभई पानी उपयोग हुने गरी बहुद्देश्यीय आयोजनाको रूपमा विकास गर्न सरोकारवालाले सुझाएका छन् । बिजुलीमात्रै उत्पादन हुने गरी डिजाइन गर्दा पानी प्रयोगबापत आउने लाभ गुम्ने भन्दै यसतर्फ सचेत रहन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बूढीगण्डकी आयोजना विकासलाई लिएर कारोबारद्वारा बिहीबार आयोजित छलफलमा पूर्वसचिव शीतलबाबु रेग्मीले आयोजनालाई बहुद्देश्यीय बनाएर पानी चितवन र नवलपरासीमा सिँचाइका लागि प्रयोग गर्नुपर्ने बताए । उनले आयोजनाबाट प्रवाह हुने पानी नियन्त्रणका लागि रि–रेगुलेटिङ बाँध बनाउनुपर्ने पनि उल्लेख गरे । “कम लागतमा बढी बिजुली उत्पादन र डुबान क्षेत्र कम हुने गरी बूढीगण्डकीलाई विकास गर्नुपर्छ,” उनले भने, “६५ हजार हेक्टर जमिन डुबाएपछि तल्लो तटीय लाभ पनि नेपालले लिन सक्नुपर्छ । जलाशयबाट निस्केको पानीबाट सुख्खायाममा नवलपरासी र चितवनका थप १ लाख हेक्टर जमिनमा सिँचाइ पु¥याउन सकिन्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघ जलविद्युत् समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले पनि बूढीगण्डकीलाई ऊर्जाको रूपमा मात्रै नभई पानी उपयोग गर्ने गरी बनाउनुपर्ने सुझाए । आयोजनाको पानीबाट तल्लो तटीय क्षेत्रले लाभ लिने गरी निर्माण थाल्नुपर्ने उनको भनाइ छ । बूढीगण्डकीको पानीबाट देवघाटमा अर्को २२५ मेगावाटको आयोजना बनाउन सकिने दाबी उनले गरे । “यो आयोजनालाई पनि बूढीगण्डकीमा जोड्नुपर्छ,” उनले भने, “प्रतिफल कम भएकाले भारतबाट १ प्रतिशत सहुलियत ब्याजमा आयोजनालाई ऋण पनि लिनुपर्छ ।”
स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान)का अध्यक्ष खड्गबहादुर विष्टले बूढीगण्डकी समितिमार्फत निर्माण गर्न नहुने बताए । उनले आयोजना सार्वजनिक–निजी साझेदारमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । ४९ प्रतिशत सरकार र ५१ प्रतिशत नागरिकको स्वामित्व रहने गरी लगानी प्रारूप तयार गर्नुपर्ने सुझाव उनको छ ।
समिति अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले बूढीगण्डकीबाट सुख्खायामको बिजुली माग पूरा हुने भएकाले निर्माण गर्न लागिएको बताए । उनका अनुसार हिउँदमा आयोजना दिनको ६ देखि ८ घण्टासम्म सञ्चालन गरेर लोडसेडिङ अन्त्य गर्न सकिनेछ । परामर्शदाता ट्र्याक्ट्वेल इन्जिनियरिङ (फ्रान्स)ले आयोजना १२ सय मेगावाटमा डिजाइन गरेको जानकारी दिँदै उनले आयोजनाबाट वार्षिक ३ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने बताए । सुख्खायाममा मात्र बूढीगण्डकीबाट १ अर्ब ८० करोड युनिट बिजुली उत्पादन हुनेछ ।
आयोजना पुसदेखि वैशाखसम्म विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको देवकोटाले बताए । चालू आवमा जग्गा अधिग्रहण र पुनर्बास काम आधा सक्न २९ अर्ब रुपैयाँ मागिए पनि सरकारले ३ अर्ब ३७ करोडमात्र दिएकाले काम प्रभावित हुने उनको भनाइ छ । जग्गा अधिग्रहण र पुनर्बासको काम सक्न कुल ५८ अर्ब रुपैयाँ लाग्ने अनुमान उनले सुनाए ।

http://np.karobardaily.com/2015/07/61814/