BETA
VERSION

बोर्डमार्फत साढे ५ खर्बको लगानी प्रतिबद्धता

बोर्डमार्फत साढे ५ खर्बको लगानी प्रतिबद्धता

 २०७२-०५-९  अभियान दैनिक

अरुणा कार्की

- सिमेण्ट र जलविद्युत् प्राथमिकतामा

- भारतीय र चिनियाँ कम्पनीकै वर्चस्व

भदौ ८, काठमाडौं । सिमेण्ट, जलविद्युत् र फोहोर व्यवस्थापनको क्षेत्रमा पछिल्लो साढे ३ वर्षमा ५ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँको प्रत्येक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । प्रतिअमेरिकी डलरको भाउ १ सय रुपैयाँ मान्दा लगानी बोर्ड नेपाल (आईबीएन)मार्फत पछिल्लो ३ वर्ष ५ महिनाको अवधिमा उक्त रकमबराबरको एफडीआई प्रतिबद्धता आएको हो । उक्त रकमबराबरको एफडीआई भारत, चीन, नाइजेरिया र फिनल्याण्डबाट आएको लगानी बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डको तथ्याङ्कअनुसार विगतका वर्षहरूमा जस्तै भारत तथा चीनियाँ कम्पनीबाट सबैभन्दा ठूलो परिमाणमा लगानी प्रतिबद्धता आएको छ । त्यतिमात्र नभएर सिमेण्ट र जलविद्युत्को क्षेत्रमा लगानी गर्न चिनियाँ र भारतीय कम्पनीबीच एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ । अहिलेसम्मकै सबैभन्दा ठूलो चिनियाँ कम्पनी थ्री गर्जेजअन्तर्गतको सीडब्ल्यूई इन्भेष्टमेण्ट कर्पोरेशनले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न १ खर्ब ६० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरेको छ । त्यसैगरी दुई भारतीय कम्पनी जीएमआरअन्तर्गतको जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड र सतलजअन्तर्गतको एसजेभीएन अरुण थ्री पावर डेभलपमेण्ट कम्पनीले माथिल्लो कर्णाली तथा अरुण थ्री जलविद्युत् आयोजना निर्माणमा क्रमशः १ खर्ब १६ अर्ब र १ खर्ब ४० अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता गरिसकेका छन् ।   

सिमेण्ट उद्योगमा भने सबैभन्दा ठूलो नाइजेरियाको ड्याङगोटे समूहले ५५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरेको छ ।

त्यसपछि भारतको प्रतिष्ठित व्यवसायिक घराना रिलायन्स समूहले सिमेण्ट उद्योग स्थापना गर्न भन्दै ४० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरेको बोर्डले सार्वजनिक गरेको एकीकृत तथ्याङ्कमा उल्लेख छ । सिमेण्ट उद्योगमा तिब्बतको प्रतिष्ठित लगानी समूह होङ्सीले नेपालको शिवम् सिमेण्टसँगको साझेदारीमा उद्योग स्थापना गर्न ३६ अर्ब ९० करोड रुपैयाँको लगानी प्रतिबद्धता गरिसकेको छ । उक्त समूहले उद्योग स्थापनाका लागि स्थान समेत पहिचान गरिसकेको बताएको छ ।

बोर्डमार्फत आएको लगानी प्रतिबद्धतामा सिमेण्ट र जलविद्युत्पछि फोहोर व्यवस्थापनको क्षेत्र रहेको छ । फोहोर व्यवस्थापनको क्षेत्रमा बोर्डमार्फत अहिलेसम्म एक भारतीय र एउटा फिनल्याण्डको कम्पनीले लगानी प्रतिबद्धता व्यक्त गरेका छन् । भारतको बीभीजी कम्पनीले ८० करोड रुपैयाँ र फिनल्याण्डको कम्प्युनिकेशन कम्पनीले ४ अर्ब ९० करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता फोहोर व्यवस्थापनको क्षेत्रमा गरेको बोर्डको तथ्याङ्क छ ।

http://www.abhiyan.com.np/new/Articles/view/65061