BETA
VERSION

लगानी बढेपछि सिमेन्टमा आत्मनिर्भर

लगानी बढेपछि सिमेन्टमा आत्मनिर्भर

आशीष ज्ञवाली |२०७२ साउन २७

काठमाडौं: औद्योगिक घरानाले सिमेन्ट उद्योगमा बढाएको लगानीसँगै नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ। 

सिमेन्टमा लगानी गर्न विदेशी र स्वदेशी आकर्षित भएपछि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा पनि यो क्षेत्रमा बढेको छ। आर्थिक वर्ष २०६७÷६८ सम्ममा १२ अर्ब ७८ करोड कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७१-७२ मा आइपुग्दा सिमेन्ट उद्योगमा मात्र ३५ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

आर्थिक वर्ष २०६७-६८ मा तीन अर्ब ४७ करोड रुपैयाँको सिमेन्ट आयात भएकोमा २०७१-७२ मा आइपुग्दा त्यो घटेर एक अर्ब ८७ करोडमा सीमित भएको छ।पछिल्लो पाँच वर्षमा नेपालको औद्योगिक क्षेत्रमा उल्लेखनीय लगानी आएको क्षेत्र सिमेन्ट हो। एकवर्षमा मात्र लगानी बोर्डले सिमेन्टमा एक खर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ। 

लगानी बोर्डले भारतको रिलायन्स,चीनको हंसी ग्रुप तथा नाइजेरियाको डांगोटे ग्रुपलाई सिमेन्टमा प्रत्यक्ष वैदेशिक लगानीका लागि अनुमति दिएको हो। डांगोटेले ५५ अर्ब,रिलायन्सले ४० अर्ब र हंसीले ३५ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापा अहिले सञ्चालनमा आउन लागेका र विदेशी लगानीका सिमेन्ट उद्योग स्थापना भएका स्वदेशी मागभन्दा बढी उत्पादन हुने बताउँछन्। 'सिमेन्टमा स्वदेशीदेखि विदेशीसम्मको चासो बढेको छ', उनले भने, 'उद्योगमा लगानी बढेसँगै विदेशी सिमेन्टको आयात प्रतिस्थापन हुने अवस्थामा पुगको छ। दुईवर्षभित्रमा नेपाली सिमेन्ट पूर्णरूपमा आत्मनिर्भर हुनेछ।' उनले ठूला परियोजनामा ठेकेदारलाई विदेशी सिमेन्ट आयात गर्न भन्सार र मूल्य अभिवृद्धि करमा दिने गरेको छुटको कारण विदेशी सिमेन्ट आयात नरोकिएको उनले बताए। 'विदेशी सिमेन्टभन्दा पनि राम्रो गुणस्तर नेपाली सिमेन्टको छ',उनले भने,'विदेशी ठेकेदारले भन्सार र भ्याट छुट पाउने हुँदा नेपाली सिमेन्टभन्दा सस्तोमा पाउँछन्।'

लगानी बढेसँगै विदेशी सिमेन्टको आयात प्रतिस्थापन गर्ने अवस्थामा पुगेको छ। सिमेन्टको कच्चा पदार्थ क्लिङकर आयात हुने क्रम नरोकिए पनि सिमेन्टमा भने आयात प्रतिस्थापन गर्न नेपाली सिमेन्ट उद्योग सक्षम देखिएका हुन्। उद्योग विभागमा अहिले ६७ वटा सिमेन्ट उद्योगले उत्पादनको अनुमति लिए पनि ४४ वटा उद्योग अहिले सञ्चालनमा छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका सिमेन्ट उद्योग पछिल्लो समय लगानीको दृष्टिकोणले आकर्षक भएको बताउँछन्। 'प्रतिबद्धता गरे अनुसार लगानी आएमा आगामी चारवर्षमा सिमेन्टको उत्पादन मागभन्दा बढी हुन्छ',अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशकसमेत रहेका मुरारकाले भने,'लोडसेडिङ तथा ढुवानीको कारण नेपाली सिमेन्टको उत्पादन लागत महँगो हुने हुँदा निर्यातमा समस्या छ।'

 

भारतको उत्तरप्रदेश र विहारमा सिमेन्ट उद्योग नभएको तथा नेपाली सिमेन्ट उद्योगहरू अधिकांश तराईका जिल्लामा रहेकोले भारत निर्यात गर्न सक्ने सम्भावना छ।सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल कर्जा लगानीको मागको दृष्टिकोणले सिमेन्ट उद्योगमा अहिले बढी माग रहेको बताउँछन्। 'सिमेन्ट उद्योगमा गएको कर्जा उठाउन कुनै समस्या छैन',उनले भने, 'निर्यात गर्न सकेमा सिमेन्ट क्षेत्रमा ठूलो कर्जा जान सक्ने अझै पनि सम्भावना छ।'

सिमेन्टमा लगानी गर्न विदेशी र स्वदेशी आकर्षित भएपछि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा पनि यो क्षेत्रमा बढेको छ।

अहिले नेपालमा वार्षिक ५० अर्बको हाराहारीमा सिमेन्टको व्यापार छ। सिमेन्टमा आन्तरिक र विदेशी लगानीसँगै भएका सिमेन्ट उद्योग पनि आफ्नो उत्पादन क्षमता बढाउने प्रयासमा छ। राष्ट्रबैंकको अध्ययन अनुसार सिमेन्ट उद्योगले कुल क्षमताको ५७.३४ प्रतिशतमात्र उपयोग गरेको देखिएको थियो।  अहिले पनि भएको क्षमता पूर्णरूपमा प्रयोग नगरे पनि सञ्चालनमा रहेका सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने तयारी गरेका छन्। अबको केही महिनामा भित्रमा कसमस सिमेन्ट र कुमुद दुगडको लगानीमा स्थापना भएको सिमेन्ट बजारमा आउने तयारीमा रहेको छ।

अहिले नेपालमा वार्षिक ४० लाख टन सिमेन्टको माग छ। औसतमा वार्षिक सिमेन्टको उत्पादन १० प्रतिशतले बढ्ने गरेको छ।पछिल्लो पाँच वर्षमा सिमेन्टमा लगानी केन्द्रित रहेको र दुईवर्ष पछि उत्पादन भएको सिमेन्ट आन्तरिक बजारमा बढी हुने हुँदा निर्यातका लागि सरकारले प्राथमिकता दिनेगरी कार्यक्रम ल्याउनुपर्ने माग उत्पादकको छ। 

http://annapurnapost.com/News.aspx/story/16299