BETA
VERSION

सरकारको उच्च प्राथमिकतामा सिमेण्ट उद्योग होङ्सीको ३५.९१ अर्ब एफडीआई स्वीकृत

सरकारको उच्च प्राथमिकतामा सिमेण्ट उद्योग

 होङ्सीको ३५.९१ अर्ब एफडीआई स्वीकृत

अरुणा कार्की  अभियान

साउन १२, काठमाडौं । सरकारको उच्च प्राथमिकतामा रहेको सिमेण्ट उद्योगमा स्थानीयदेखि विदेशी लगानीकर्तासमेत आकर्षित भएका छन् । अहिले नेपालमा वार्षिक ७० लाख मेट्रिक टनसम्म सिमेण्ट उत्पादन क्षमता भएका ४५ ओटा उद्योग सञ्चालनमा छन् । तर, नेपालको अहिलेको माग वार्षिक ४५ लाख मेट्रिक टनको हाराहारीमात्र रहेको नेपाल सिमेण्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

चिनियाँ सिमेण्ट उत्पादक होङ्सी ग्रूपले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)अन्तर्गत झण्डै ४० अर्ब रुपैयाँको लगानीमा सिमेण्ट उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा मङ्गलवार बसेको लगानी बोर्डको बैठकले चिनियाँ होङ्सी ग्रूपको रू. ३५ अर्ब ९१ करोड एफडीआई स्वीकृत गरेको छ । होङ्सी ग्रूपले नेपालमा शिवम् सिमेण्टसँग मिलेर संयुक्त रूपमा सिमेण्ट उत्पादन गर्ने सहमति भइसकेको छ ।

त्यसैगरी, नाइजेरियाको डाङ्गोटे कम्पनीले सिमेण्ट उद्योग स्थापनाका लागि स्वीकृति माग गरिसकेको छ । नेपालमा पनि सिमेण्ट उद्योगमा विभिन्न व्यापारिक घराना आकर्षित हुन थालेका छन् । अहिले चौधरी समूहदेखि केएल दुगड ग्रूपसम्मले सिमेण्ट उद्योगमा आक्रामक लगानी विस्तार गरिरहेका छन् ।

सिमेण्ट उद्योगमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित हुनेक्रम बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उच्च प्राथमिकतामा राखेको छ । बजेटमार्पmत चालू आर्थिक वर्षको अन्त्यसम्म १६ ओटा सिमेण्ट उद्योगको खानीसम्म पहुँच मार्ग तथा थप १२ ओटा सिमेण्ट उद्योगसम्म विद्युत् पुर्‍याउन प्रसारण लाइन निर्माण गरिने भएको छ । त्यसैगरी, उद्योगलाई आवश्यक पर्ने ४ हजार ८ सय मेट्रिक टनसम्म चुनढुङ्गा उत्खनन गरी ३ हजार मेट्रिक टनसम्म क्लिङ्कर र सिमेण्ट उत्पादन गर्ने उद्योग स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

गत वैशाखको विनाशकारी भूकम्पपछि पुनर्निर्माण र नवनिर्माण पहिलो प्राथमिकतामा परेपछि सिमेण्ट उद्योग सरकारको थप प्राथमिकतामा परेको हो । सरकारले चालू आवमा पुनर्निर्माण तथा नवनिर्माण प्रयोजनलाई मात्र झण्डै ९० अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । अन्य उद्योगको तुलनामा सिमेण्ट उद्योगले रोजगारीसमेत बढी सृजना गर्ने तथा निर्माणलाई आवश्यक सिमेण्ट देशभित्रबाटै व्यवस्थापन गर्न सिमेण्ट उद्योग सरकारको उच्च प्राथमिकतामा परेको उद्योग मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

अहिले एउटा सामान्य किसिमको सिमेण्ट उद्योग स्थापना गर्न ३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उद्योगीहरू बताउँछन् । सामान्यतः यस्तो एक उद्योगले २ सयको सङ्ख्यालाई प्रत्यक्ष रोजगारी सृजना गर्न सक्छ । उद्योग सञ्चालनमा अहिले स्थानीय बासिन्दाको अवरोध, श्रमिकको अभाव तथा खानीसम्म विद्युत्को सहज उपलब्धता नहुनु मुख्य समस्या रहेको अध्यक्ष थापाले बताए ।

http://www.abhiyan.com.np/new/Articles/view/63393

Nepal Investment Summit 2017